

देशका नदीनालाहरु भारतलाई सुम्पिनुलाई सरकार उपलब्धी ठान्दैछ : अध्यक्ष लिङदेन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका नदीनालाहरु भारतलाई सुम्पिएको आरोप लगाएका छन् ।
अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसद्मा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको बताए ।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देश संकटमा परेको जिकिर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरुलाई आह्वान समेत गरे ।
तपाईहरुले बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा परेकाले जोगाउनका लागि साथ चाहिएको अध्यक्ष लिङदेनको भनाई थियो । उनले राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना र सङ्घीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दाबी समेत गरे ।
भूतपूर्व सैनिकहरुका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नभएको अध्यक्ष लिङदेनको भनाइ थियो । उनले देश संकटमा पर्दा, हिन्दु धर्म संकटमा पर्दा भूतपूर्व सैनिकहरुले चुप लागेर बस्न नमिल्ने पटक पटक दोहोर्याएका थिए ।

