काठमाडौं विश्वविद्यालयका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुँदै


काठमाडाैं – काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित हुने जनाएको हो ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय परिसरमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मुम्बइका अटलास स्किलटेक विश्वविद्यालयका उपकुलपति प्रोफेसर राजन वीलुकरको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह हुने भएको विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बताए ।

यसपटकको समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्टस्, एजुकेसन, इञ्जीनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पिएचडी नौ जना, एमफिल ४१, स्नातकोत्तर तहका ९८ र स्नातक तहका एक हजार ९२ सहित एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने जनाइएको छ । जसमध्ये आर्टस्का ३५, एजुकेसनका ५७, इञ्जीनियरिङका तीन सय ६५, ल का एक, म्यानेजमेन्टका ५०, मेडिकल साइन्सेजका पाँच सय ६५ र साइन्सका एक सय ६७ जना रहने छन् ।

दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको सङ्ख्याभन्दा महिलाको सङ्ख्या बढी रहने छ । पुरुषको प्रतिशत ४९ दशमलव ३५ (छ सय १२) र महिलाको प्रतिशत ५० दशमलव ६५ (छ सय २८) जना रहने छ । दीक्षित हुनेमध्ये वेनिन, भारत, श्रीलङ्का र संयुक्त राज्य अमेरिका गरी चार देशका ७३ जना अर्थात् ५ दशमलव ८९ प्रतिशत रहेका विदेशी विद्यार्थी रहनेछन् ।

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जीनियरिङअन्तर्गत ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरिने भएको छ । अठ्ठाइसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४१ हजार दुई सय ७५ विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया