

संघीय निजामती सेवा ऐन अर्थ र कानुन मन्त्रालयमा पठाइसक्यौं : मन्त्री मोदी

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन लेखनको काम सकिएको बताएका छन् ।
आज (बिहीबार) मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री मोदीले मन्त्रालयले सरोकारवाला सबै पक्षसँग विभिन्न समयमा छलफल गरी लेखनको काम सकेको जानकारी दिएका हुन् । उनले ऐनलाई अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइएको र ती मन्त्रालयबाट सहमति आउन बाँकी रहेको बताए ।
उनले भने, ‘सङ्घीय निजामती सेवा ऐन लेखनको काम सकेर अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाएका छौँ । कानुन र अर्थको सहमति आउन बाँकी छ ।’ मन्त्री मोदीले तोकिएको क्षेत्रमा नजाने कर्मचारीप्रति कडाइ गर्दै समस्या समाधानमा आफू दत्तचित्त भएर लागेको पनि बताए।
उनले बेरुजु नियन्त्रणका लागि पालिकालाई मन्त्रालयबाट परिपत्र जारी गरेको तथा आउँदो बजेटमा जनजाति, मधेसी, दलित, पिछडिएका क्षेत्रका जेहेनदार विद्यार्थीलाई लोक सेवा निःशुल्क पढाउने व्यवस्था मिलाएको बताए । मन्त्री मोदीले पालिका प्रमुखहरू विदेश भ्रमणका जाने कुरामा पनि कडाइ गरेको बताए । आफूखुशी विदेश भ्रमणमा जानलाई रोक लगाउँदै परराष्ट्र मन्त्रालयमार्फत सबै प्रक्रिया नपुर्याइ जान नदिएको उनले बताए । सरकारी खर्चमा विदेश भ्रमणमा जान नदिएको उनको भनाइ छ ।
उनले सञ्चारमाध्यममा आए जस्तो आफूलाई मन्त्रीबाट फिर्ता बोलाउन लागिएकोबारे जानकारी नभएको बताए । मोदीले कुन बेला कसको पद जाने भन्ने टुंगो नभएको बताएका छन् । मन्त्रिपरिषदमा थारु समुदायको आफू एक्लै रहेको र खराब काम पनि नगरेको भन्दै प्रधानमन्त्रीले आफूलाई फिर्ता नबोलाउनेमा उनको विश्वास छ ।

