


नेपाललाई समतामूलक समृद्धिको दिशामा लैजान आवश्यक छ : डा. भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले सङ्घर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।
आज (बिहीबार) भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले देशमा भ्रष्टाचार नगर्ने मान्छे पाउन मुस्किल भएको टिप्पणीसमेत गरेका छन् ।
उनले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै दाबी गर्दै आफ्नो पार्टीले निकट भविष्यमा नै अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने जिकिर गरे । भ्रष्टाचारको अन्त्य गरी नेपाललाई बदल्न सङ्कल्पसहित अघि बढ्नु पर्ने खाँचो रहेको भट्टराईले बताए ।
उनले भने, ‘हामीले सङ्घर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजाने एउटा न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित हाम्रो पार्टी बनेको हो । देशमा भ्रष्टाचारको चरम विकृति छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे कोही छ भनेर खोज्नुपर्ने समय आएको छ । यस्तो ठूलो संक्रामक रोगबाट हामी गुज्रेका छौँ । त्यसको अन्त्य गरी देशमा सुशासन दिने र हाम्रै कार्यकालमा सबैको निम्ति समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्नेछ । हामी नेपाललाई बदल्न सङ्कल्पसहित हिँडेका अगुवाहरूको यो पार्टी हो । पुराना र नयाँ भुल्काका रूपमा उदाइरहेका शक्तिहरूभन्दा फरक नेपाल समाजवादी पार्टी हो ।’ अध्यक्ष भट्टराईले पार्टीको मुख्य कार्यदिशा भनेको राजनीतिक कार्यदिशा भएको बताएका छन् ।

