


अहिलेको बजेटले नेपाली अर्थतन्त्र बुझेन : सांसद गुरुङ

काठमाडौं – नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले अहिलेको बजेट नेपाली अर्थतन्त्र नबुझेको बजेट भएको टिप्प्णी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा समाजवाद उन्मुख उत्पादनलाई प्राथमिकतामा राख्न नसकेको बजेट नेपाली अर्थतन्त्र नबुझेको बजेट भएको टिप्पणी गरेका हुन् । उनले स्थापीत उत्पादनसम्बन्धलाई बिकासका लागि बजेट विनियोजन गर्न बजेट चूकेको उल्लेख गरे ।
गुरुङले बजेट कर्मचारी र स्रोतसाधन सिंहदरबारमा नै थन्किने गरी आएको भन्दै यसले वित्तीय संघीयताको मर्मलाई आत्मसाथ गर्न नसकेको टिप्पणी गरे । उनले मुलुकको लैङ्गिक, वर्गीय, जातीयलगायत विभेद् अन्त्य गर्न असमर्थ रहेको र पञ्चायतजस्तो बजेट भएको बताए ।
त्यस्तै छलफलमा भाग लिदै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले बजेटले राष्ट्रिय दायित्व बोल्ने अठोट गरेको भन्दै समर्थन जनाए । उनले बजेटमा राज्यलाई अपरिहार्य नभएका २० समिति, संस्थान खारेज गर्ने वा गाभ्ने व्यवस्था कार्यान्वयन सहज नभएको बताए । उनले प्रशासनीक संयन्त्रहरु केन्द्रीकृत सोचबाट मुक्त हुन नसकिएको बताए ।
त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नागरिकता विधेयकको विरोधमा रहेको प्रचार भएको भन्दै आफुहरुको विरोध प्रक्रियामा मात्रै रहेको बताए । वंशजको आधारमा नागरिकता पाउनु पर्दछ भन्ने कुरामा कुनै दुविधा र फरक मत नभएपनि जन्मको आधारमा नागरिकता वितरण गर्दा त्यो सुविधा लिएर कुनै विदेशीले नागरिकता लिएको छ भने तिनीहरुलाई छानविन र कारबाही हुनुपर्छ भन्नेमा दृढ रहेको बताए ।
लिङ्देनले बजेट अनुदान र ऋणमा आधारित रहेको भन्दै जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने जिकिर गरे । उनले करको दायरा बढाउने क्रममा अन्धाधुन्ध निर्णय गरेको र यसले दुष्प्रभाव पर्न सक्ने बताए ।
उनले ठूला विद्युत् आयोजना बनाउने जिम्मा विदेशीलाई दिनुभन्दा स्वदेशी लगानीमा निर्माण गर्न गर्नुपर्ने बताए । उनले विद्युतीय सवारीसाधनमा कर घटाउनुपर्ने गरि बजेटका सुधार गर्नुपर्ने बताए ।

