गाउँपालिका अध्यक्षका छोराले गरे प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीमाथि हातपात

कर्मचारीले गरेर काम नगर्ने घोषणा


प्युठान – झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले कर्मचारीमाथि कार्यालयमै हातपात गरेका छन् । माओवादी निकट विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष समेत रहेका मिलनले प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल,योजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीमाथि हातपात तथा दुर्व्यवहार गरेका थिए ।

मिलनले कार्यकक्षमै अनुचित कामको दबाब दिँदै कर्मचारीमाथि हातपात गरेकोले उनलाई कारबाहीको माग गर्दै काम नगर्ने जनाएका छन् ।

बुधबार पूरा नभएको योजनाको भुक्तानीका लागि योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्कासहित गाउँपालिकाको कार्यालयमा पुगेका मिलन एमसीले प्रमुख प्रशासकीय अधिकृत रिजाल र योजना शाखाका जिसीमाथि हातपात तथा दुर्व्यवहार गरेका थिए ।

उनले भुक्तानी दिन भन्दै अपशब्द बोलेर कर्मचारी जिसीमाथि हातपात गरेको बताइएको छ । जिसीले यो विषय प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउने क्रममा सबै शाखाका कर्मचारी जम्मा भएका थिए ।

सबै कर्मचारी जम्मा भएको बेलामा समेत मिलनले टेलबमा पैसा फ्याँक्दै अश्लील गाली गरेको कर्मचारीहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्षका छोरालाई कारबाही माग गर्दै कर्मचारीहरुले अत्यावश्यक बाहेकका कामकाज बन्द गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले काम पूरा नभएको फाइलबाट भुक्तानीको दवावमा यस्तो गलत काम भएको बताउँदै कर्मचारीमाथि जाइलाग्नेहरुमाथि कारबाही हुनुपर्ने विषयमा आफू प्रष्ट भएको बताए ।

पालिकाका सूचना अधिकारी हरि पोखरेलले आज सबै कर्मचारी बसेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिने बताए । ‘हाकिम साप तनावमा हुनुहुन्छ, हिजो नै हामीले पीडकलाई कारबाही नहुँदासम्म कुनै काम नगर्ने घोषणा गरिसकेका छौं, आज बसेर कसरी अगाडि बढ्ने भनेर हाकिम सावले बोलाउनुभएको छ’ उनले भने ।

प्रतिक्रिया