

एमाले नेता एवम् पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

काठमाडौं – नेकपा एमालेका नेता महेश चौधरीको निधन भएको छ। बुधबार मध्यान्हमा दाङस्थित राप्ति विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उनको निधन भएको हो।
केही महिना अगाडि काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा अस्पतालमा उनको हर्नियाको अपरेशन गरिएको थियो। उपचारपछि दाङ फर्किएका उनको केहीदिन यता खुट्टा चल्न छाडेको थियो।
गएराति स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो। उनलाई भेन्टिलेटरमा राखिएको थियो। उपचारको क्रममा चिकित्सकले उनलाई आज मृत घोषणा गरेको उनका छोरा सुशील चौधरीले जानकारी दिए।
उनी स्थानीय विकास राज्यमन्त्री र संविधान सभा सदस्य समेत भएका थिए। साथै उनी २०४८ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए। ६ वर्ष राष्ट्रिय सभा सदस्य भएपछि २०५४ सालमा उनी स्थानीय विकास राज्य मन्त्री भएका थिए।

