आगलागीमा चार घर जले, कसरी भयाे


कालिकोट – कालिकोटको तिलागुफा नगरपालिका–२ रातडाबमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । तिलागुफा नगरपालिका–५ का वडा अध्यक्ष टीकाराम न्यौपानेले शुक्रबार बेलुका रातडाबमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको जानकारी दिए ।

उनका अनुसार आगलागी दिनमा भएकाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ । स्थानीय नागरिक र प्रहरीको सक्रियतामा आगो नियन्त्रण गरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईन्सपेक्टर भुपेन्द्र शाहीले राताडाबमा भएको आगलागीबाट चार घर जलेको र ती घरमा बस्ने ६ परिवारहरु आफन्तको घरमा विस्थापित भएको बताए ।

उनले भने, ’आगलागी हुनुको कारण खुलेको छैन । दिउँसो आगलागी भएकाले मानविय क्षति भएन । चार वटा बाख्रा जलेका छन् । घरमा रहेको अन्न, जेन्सी सामानहरु सबै जले ।’ दुई महिनाअघि मात्र तिलागुफा नगरपालिका–४ को दलित बस्तीमा सुधारिएको चुलोको धुँवा जाने पाइपबाट आगोका झिल्का जाँदा खरले छोएको घरमा आगलागी भएको थियो । जहाँ १२ घर जलेका थिए ।

प्रतिक्रिया