चौथो खेलमा नेपाल मलेसियासँग पराजित


काठमाडौं – पाँच खेलको महिला टी-२० आई शृङ्खलाको चौथो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

जितका लागि नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेटाएको हो । योसँगै पाँच खेलको शृङ्खला २-२ को बराबरी भएको छ । अब बाँकी एक खेल जित्ने टोली यो शृङ्खला जित्नेछ । मलेसियाको जितका लागि विनिफ्रेड डुराइसिंगमल सर्वाधिक ३८ रनको योगदान गरिन् ।

यस्तै, महिराह इज्जाती इस्माइलले १६ रन, मास एलिशाले १३, नुर एरियाना नात्स्याले ९, आइना हाशिम र आयसिया एलिसाले एकरएक रनको योगदान गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले ३१ बलमा तीन चौकासहित सर्वाधिक ३२ रनको योगदान गरिन् भने विन्दु रावलले २६ बलमा एक चौकासहित २४ रन बनाइन् ।

सम्झना ८ रन, ओपनर काजोल श्रेष्ठले ६ रन , ज्योति पाण्डे १ रन र कप्तान रुविना क्षेत्री बेलबासे शून्य रनमै आउट भए । कविता जोशी १२ रन बनाएर अविजित रहिन् ।

प्रतिक्रिया