

नेपाली पिकलबल टोली १५ पदकसहित स्वदेश फर्कियो

काठमाडौं – भारतको सिक्किममा सम्पन्न प्रथम सिक्किम नेशनल टुर्नामेन्टमा एक स्वर्ण पदक सहित १५ पदक जितेर नेपाली पिकलबल खेलाडीको टोली स्वदेश फर्किएका छन्।
भारतको नेशनल टुर्नामेन्ट भएतापनी नेपालीटोली पाहुना टोलीका रुपमा सहभागी खेलमा भारतका १० वटा प्रान्तका खेलाडीहरुको सहभागीता रहेको थियो। नेपाली खेलाडीका लागि न्यु लक्ष्मी ज्वेलर्सले जर्सी उपलब्ध गराएको थियो।
नेपालको तर्फबाट पुरुष सिङ्गलतर्फ कुमार प्रधानले गुजरातका डा. जनक देशाई लाई फाइनलमा हराउँदै स्वर्ण पदक जितेका छन्। प्रधान नेपाली टोलीका प्रमुख प्रशिक्षक समेत हुन्। यसैगरी महिला सिङ्गल र डबल्सगरी जर्जिया चौधरी ३ सिल्भर, स्वस्तिका महर्जन १ शिल्भर र २ ब्राउन्ज र प्रजुना अधिकारीले १ सिल्भर र २ ब्राउन्ज मेडल जितेकी छन्। पुरुषतर्फ जनक फडेरा २ सिल्भर, किरण खनाल १ सिल्भर र सौरभ भण्डारीले १ ब्राउन्ज गरी नेपाली टोलीले १५ मेडल जित्न सफल भएको छ।
समुहचरणका अधिकांश खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोलीले सेमिफाइनल सम्म खेलेको थियो । छोटो समयमा भारतले पिकलबल खेलमा गरेको प्रगतिलाई आत्मसात गर्दै नेपाली टोलीले भारतमा आयोजित विभिन्न टुर्नामेन्टमा सहभागी भएर खेलाडीको स्किल डेभलप गर्ने अवसरको रुपमा लिएको पिकलबल एशोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले बताए।
पिकलबल एशोसियसन नेपालले विभिन्न क्लब तथा शैक्षिक संस्थाहरु सङ्गको सहकार्यमा नेपालमा पिकलबल खेलको विकास तथा प्रबर्द्धन गरिरहेकोछ।
पछिल्लो समय बिश्वब्यापी रुपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल नेपालमा समेत सबै उमेर समुहमा लोकप्रिय बन्दै गएको छ।

