

हेटौँडामा २ छोरासहित आमाले गरिन् विष सेवन

काठमाडौँ – मकवानपुरमा एक महिलाले दुई छोरासहित आफूले पनि विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् ।
हेटौँडा उपमहानगरपालिका–१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ करिब ६ बजे ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ ।
विष सेवनका कारण एक नाबालकको ज्यान गएको छ । पाख्रिनले प्यारा क्वाइट डाइक्लोराइड नामक झार मार्ने विषादी आफूसहित बच्चालाई खुवाएकी थिइन् ।
विष सेवन गरेकी उनीसहित बालकहरूलाई उपचारका लागि बुधबार नै हेटौडा अस्पताल पुर्याइएको थियो । त्यहाँबाट उनीहरूलाई भरतपुर अस्पतालमा रिफर गरिएको थियो ।
गम्भीर रहेका नाबालक छोरा जेनिसको बिहीबार बिहान ७ः५० मा उपचारका मृत्यु भएको छ भने, आमा र अर्का छोरा अस्किनको अवस्था पनि गम्भीर रहेको छ । उनीहरू दुवै जनाको आइसियु कक्षमा उपचार भइरहेको छ । उनीहरूले विस सेवन गर्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

