भारतसँग गलत सन्देश जाने गरी कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका बारेमा संसदीय दलमा जानकारी गराएका छन् ।

सिंहदरवारमा मङ्गलवार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले आफ्नो भारत भ्रमण र एजेण्डाका बारेमा जानकारी गराएका हुन् । भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताएको एक सांसदले बताए ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘प्रधानमन्त्रीले आसन्न भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताउनुभयो ।’

बैठकमा भारत भ्रमणसँगै सरकारद्वारा प्रस्तुत बजेट तथा सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानका बारेमा पनि प्रधानमन्त्रीले ब्रिफिङ गरेका थिए ।

सरकारले सङ्घीय संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको, अहिलेको राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने खालको रहेकाले बजेटको प्रतिरक्षा गरेर जाने बताए ।

भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवर्द्धन तथा अनियमितताको अनुसन्धानमा सरकार स्पष्ट अडानका साथ जाने प्रतिबद्धता व्यक्त गरेको ती सांसदको भनाई छ ।

प्रतिक्रिया