जातीय पहिचान पक्षधरलाई वार्तामा आउन मुख्यमन्त्री कार्कीको आग्रह


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका जातीय पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेका छन् । १६औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवादमा आउन आग्रह गरे ।

‘संविधान र कानूनले प्रत्याभूत गरेका अधिकारसहित गरिएको नामकरणबारे केही विमतिहरू भए आगामी निर्वाचनमार्फत् कानून र संवैधानिक प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछु,’ उनले भने, ‘तपाईंहरूलाई आफ्ना हिंसात्मक गतिविधिहरू छाडेर सरकारसँग संवाद र छलफल गर्न आह्वान गर्दछु । हामी संवाद र छलफलबाट नै निष्कर्षमा पुग्न सक्छौं ।’

आइतवार प्रदेशसभा बैठकमा बोल्ने सांसदहरूले आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन सरकारसमक्ष माग गरेका थिए ।

गत फागुन १७ गते प्रदेशसभा बैठकबाट प्रदेशको नाम कोशी राखेपछि जातीय पहिचान पक्षधर आन्दोलनमा छन् । आन्दोलनका क्रममा आइतवार प्रदेशसभा भवन अगाडि प्रदर्शनकारी र प्रहरीबीच दिनभर झडप भएको थियो ।

ठूला समस्या पनि वार्ताका माध्यमबाट समाधान भएको बताउँदै मुख्यमन्त्री कार्कीले वार्तामा आउन आग्रह गरेका हुन् । पहिलो प्रदेशसभाले नाम राख्न नसकेको बताउँदै उनले दोस्रो प्रदेश सभाबाट नाम राखिएको बताए ।

कोशीकै पक्षमा हस्ताक्षर गरेका सांसदहरूले सरकारले बन्दुकको भरमा शासन गरेको भन्दै विरोध जनाउन थालेका थिए । कोशीको पक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले हस्ताक्षर गरेका थिए । नामकरणको विषमा सरकारले वार्ता गर्ने वातावरण नबनाएको भन्दै सत्ता गठबन्धन तथा प्रतिपक्षी दलले विरोध जनाएका थिए ।

प्रतिक्रिया