

प्रधानमन्त्रीले संसद्मा गराए भारत भ्रमणको जानकारी

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गरेपछि बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले चार दिने भारत भ्रमणको टिम, सम्भावित एजेण्डासहितका विषयमा संसद्लाई जानकारी गराएका हुन् ।
‘जेठ १७ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमणमा जाँदैछु । यो टोलीमा परराष्ट्र, अर्थ, उर्जा, भौतिक पूर्वाधार, उद्योग वाणिज्यसहितका मन्त्री, कर्मचारी, सञ्चारकर्मीसहितको टोली सहभागी हुनेछ । नेपाल र भारतका सम्बधका विभिन्न क्षेत्रका सोही प्रतिनिधिमण्डल, विज्ञ, कुटनीतिज्ञसहितकासँग नेपालको हितलाई हुने भारत भ्रमणमा जान लागिएकोबारे छलफल भएको छ’ उनले भने ।
भारत भ्रमणका क्रममा राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेट हुने उनले जानकारी गराएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँग नेपाल–भारत सम्बन्धका विविध पाटा, व्यापार, पारवहन, लगानीसहितका विषयमा छलफल हुने प्रधानमन्त्रीले बताए ।
‘भारतीय प्रधानमन्त्रीसँग नेपाल-भारत सम्बन्धका विविध पक्षका बारे छलफल हुनेछ । व्यापार पारवहन, लगानी प्रवद्र्धन, उर्जा व्यापार, प्रसारण लाइन, कृषि, हवाई मार्ग, पुल निर्माण, एकीकृत जाँच चौकी जस्ता विषयमा छलफल हुनेछ’ प्रधानमन्त्रीले भने, ‘जलविद्युत अर्को महत्वपूर्ण विषय हो । नेपालको हित हुने गरी गरी भारतीय लगानी भित्र्याउने र भारतको भूमि हुँदै बंग्लादशेमा विद्युत निर्यातबारे ठोस कुरा हुनेछ ।’
पञ्चेश्वर आयोजना, द्विपक्षीय वार्ताको माध्यमबाट नयाँ पारवहन सन्धिलाई टुंगोमा पुर्याउने र सीमाको विषयमा पनि छलफल हुने जानकारी प्रधानमन्त्रीले दिएका छन् । ‘सीमा समस्या लगायत कतिपय विषय सम्बोधन गर्न ठोस विश्वासको वातावरण बनाउन छलफल अगाडि बढाइने छ ।’ प्रधानमन्त्रीले भने ।

