नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित
काठमाडौं – आईसीसी एक दिवसीय विश्वकपअन्तर्गतको लिग-२ को खेल स्थगित भएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ। उसले एक सूचना जारी गर्दै लेखेको छ, ‘यो सिरिजसँगै आईसीसीले अप्रिल २०२१ को पीएनजी, ओमन र स्कटल्यान्डबीचको सिरिज पनि स्थगित भएको छ।’
‘त्यस्तै २०२१ मे मा हुने पीएनजी, यूएसए र नामिबियाबीचको सिरिज पनि स्थगित भएको छ,’ आईसीसीलाई उद्धृत गर्दै क्यानले लेखेको छ। आईसीसीले डिसेम्बर दोस्रो हप्तामा लिग–२ अन्तर्गतको नयाँ तालिका सार्वजनिक गरेको थियो।
उक्त तालिका अनुसार नेपालले आउँदो मार्चमा कोरोना महामारीपछि लिग–२ को पहिलो सिरिज खेल्ने तय भएको थियो। लिग–२ अन्तर्गत नेपालले सुरुआती सिरिज भने कोरोनाको महामारीअघि नै घरेलु मैदानमा खेलेको छ।
महामारीपछि जारी भएको तालिकाअनुसार नेपालले २०२१ मा दुई शृंखला खेल्ने तय थियो भने २०२२ मा चार शृंखला खेल्ने तय थियो। तर, तय भइसकेका सिरिज कोभिड–१९ को प्रभाव, क्वारेन्टिन प्रावधान र विभिन्न देशबीच रहेको भ्रमण अवरोधका कारण सिरिज स्थगित गरिएको आईसीसीले जनाएको छ।