प्रदेशको नाम संशोधन गर्न पूर्व मुख्यमन्त्री राजेन्द्र राईको माग


विराटनगर – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले आन्दोलनरत पक्षको माग सम्बोधनका लागि प्रदेशको नाम संशोधन गर्न माग गरेका छन् ।

आज (आइतबार) प्रदेशसभा बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका नेता राईले नामकरणको निर्णयले परिणाम राम्रो नआएको बताए ।

नागरिक प्रत्यक्ष सडकमा उत्रिएको बताउँदै नेता राईले उनीहरुको माग सम्बोधनका लागि पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग गरे । नामको निर्णयका कारण प्रदेशसभा सदस्य आफ्नै क्षेत्रमा जान नसक्ने अवस्था आएको उनको भनाइ छ ।

जनमत प्रष्ट रुपमा पहिचानको पक्षमा देखिएको बताउँदै राईले पहिचानलाई स्वीकार गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

गत पुस १७ गते प्रदेशको नाम कोशी राखेपछि राइ लिम्बु लगायत जनजातीहरुले प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने भन्दे आन्दोलन गर्दै आएका छन् । उक्त आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा एक आन्दोलकारीले ज्यानसमेत गुमाइसकेको छ ।

प्रतिक्रिया