

सरकारले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरणका लागि आग्रह गर्ने

काठमाडौं – सरकारले संघीय संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
आज (शुक्रबार) बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई नगरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
निवर्तमान राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरी राष्ट्रपतिको कार्यालयमा गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा रहेको नागरिकता विधेयक कसरी टुंगो लगाउने भन्नेबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानूनी परामर्शमा थिए । उनले विधेयक प्रमाणीकरण गर्ने आधार र कानूनी धरातलबारे बारम्बार जिज्ञासा राखेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधीवक्ता सहित संवैधानिक मामिलाका कानुन व्यवसायीहरुसँग विधेयक अघि बढाउनेबारे परामर्श गरेका थिए । संघीय संसदबाट पारित भएको नागरिकता विधेयकलाई निवर्तमान राष्ट्रपति भण्डारीले सन्देश सहित फिर्ता पठाएकी थिइन । संसदले हुबहु पारित गरेर फेरी पठाएपछि उनले प्रमाणिकरण नगरी विधेयक त्यत्तिकै अलपत्र पारेकी थिइन ।

