डब्लुएचओको महासभामा सहभागी भएर स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता


काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता हुनुभएको छ । स्विजरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा सहभागी भएर उनी आज बिहान स्वदेश फिर्ता भएका हुन् ।

सभामा रहँदा नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्रराष्ट्रहरु दाताहरु तथा सम्बद्ध निकायसँग भेट गरेको उनका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिनुभयो । बजेटका कारण उहाँले महासभा नसकिँदै स्वदेश फर्केका हुन् ।

मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटासहित ६ जनाको समूह जेनेभा गएको थियो । मन्त्री बस्नेत स्वदेश फर्के पनि मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा देवकोटाको टोली महासभामा सहभागी रहेको छ ।

महासभाले डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्नेछ । महासभा यही जेठ ७ देखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुनेछ ।

प्रतिक्रिया