विश्व बैंकका उच्च अधिकारीसहित नागढुंगा सुरुङमार्ग निरीक्षणमा पुगे भौतिक पूर्वाधारमन्त्री ज्वाला


काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन् ।

शुक्रबार बिहान विश्व बैंकका उच्च अधिकारीसहित मन्त्री ज्वालाले नागढुङ्गा सुरुङमार्गको अवलोकन गरेका हुन् ।

सो क्रममा मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् ।

सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ । आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ । आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले जानकारी दिए ।

सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि एक वर्ष थपिएको हो ।

 

प्रतिक्रिया