

गृह सचिव बनेको आठ महिनामै पाण्डेको खातामा ८५ लाख जम्मा

काठमाडौं – गृहसचिव भएको आठ महिनामै तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको खातामा ८५ लाख जम्मा भएको देखिएको छ। नक्कली भुटानी शरणर्थी प्रकरणमा नीतिगत नेतृत्व गरेको अभियोग लागेका सचिव पाण्डेलाई अभियुक्त केशव दुलालले सवा करोड बुझाएको बयान अख्तियारप्राप्त अधिकारी समक्ष दिएका छन् ।
तर, सचिव पाण्डेको खातामा भने ८४ लाख ९४ हजार ९ रुपैयाँ जम्मा भएको अनुसन्धानबाट खुलाइएको छ । पाण्डेले आफ्ना सुरक्षा गार्ड वरिष्ठ सई धर्मराज शाहीलाई सञ्चयकोष, नागरिक लगानी कोष र एभरेस्ट बैंकको खातामा जम्मा गर्न लगाएको अभियोगपत्रमा उल्लेख छ ।
गिरोहका मुख्य सदस्य रहेका केशव दुलालसँग पाण्डेको नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई लैजाने र आर्थिक कारोबारको विषयमा पनि बाक्लो कुराकानी भएको देखिन्छ ।
पाण्डेले पूर्व गृहमन्त्री बालकृष्ण खाँणका लागि ‘गिफ्ट’ (रकम) तयार भए नभएको बारे समेत दुलालसँग सोधखोज गरेको अभिलेखमा उल्लेख छ । गिफ्ट भनिएको रकम एक करोड २४ लाख रुपैयाँ खाँरण्णलाई दिएको पाण्डेले अनुसन्धान अधिकृत समक्ष बयान दिएका छन् ।
पाण्डे २०७८ साउन २७ देखि २०७९ असोज २ गतेसम्म गृह सचिव थिए । सोही अवधिमा पाण्डेले भुटानी शरणार्थी सम्बन्धी समस्या समाधान गर्न बालकृष्ण पन्थीको संयोजकत्वमा बनेको कार्यदलको मूल प्रतिवेदन साटफेर गरेको आरोप छ ।
यद्यपि पाण्डेले यो आरोप असत्य भएको र झुक्याएर अर्कै प्रतिवेदनमा हस्ताक्षर गर्न बाध्य बनाएको बयान दिएका छन् । पाण्डेलाई सरकारी कागजात कीर्ते, ठगी, संगठित ठगी र राष्ट्रहित प्रतिकूलको कसुरमा कारबाहीको माग गरिएको छ ।

