
रोष्ट्रमबाट रवि प्रश्न गर्छन्, ‘प्रधानमन्त्रीको मुटु चेक गर्न चाहेको छु, कुन अस्पतालमा चेक गर्ने हो ?’
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्न चाहेको बताएका छन्।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुटु नकमाई अनुसन्धान हुने बताएका प्रधानमन्त्रीको मुटु कामेकोजस्तो लागेकोले चेक गर्नुपरेको लामिछानेको भनाइ छ।
‘प्रधानमन्त्रीजी, तपाईंले मुटु कमाउँदिनँ भन्नुभएको छ। अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस्,’ बुधबारको प्रतिनिधि सभा बैठकमा लामिछानेले भने, ‘काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ।’
भुटानी शरणार्थी प्रकरणमा नाम आएका विभिन्न मानिसलाई बयानसमेत नलिइएको लामिछानेको भनाइ छ।
‘एकपटक बयानका लागि पनि नबोलाउने भनेको अविश्वासको वातावरण सिर्जना भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला। तीन पार्टी (कांग्रेस, एमाले र माओवादी) बसेर तपाईंहरूले खासखुस गर्नुभयो। त्यसको गन्ध संसदसम्म ठासठुस आयो। देशभरि त्यसको गन्ध गयो। रोक्नुस्।’
‘अपराध अनुसन्धानमा प्रोफाइलले हुँदैन फाइल हुन्छ,’ उनले भने, ‘काले काले मिलेर खाउँ भाले भएको हो कि१ यसो हो भने जनताले सहेर बस्दैन।’ उनले न्यायालय र नेपाली सेनामा भएका भ्रष्टाचारबारे मानिसहरू बोल्नै डराएकोसमेत बताए।



कागजपत्र |
