

नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्दैनन्, दोषी छुट्दैनन् : गृहमन्त्री

गोरखा – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफस्ने र दोषी नछुट्ने बताएका छन् ।
गोरखामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश तथा गोरखा जिल्ला समन्वय समितिको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले उक्त ठगी प्रकरणको तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाएर कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढेको बताएका छन् ।
गृहमन्त्री श्रेष्ठले आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्को देशको शरणार्थी बनाउँदै विदेश पठाउने भन्दै ठगी गरिएको प्रति द्ख व्यक्त गर्दै कोही निर्दोष नफस्ने र तथ्यले प्रमाणित गरे कुनै दोषीले छुटकारा नपाउने बताए ।
विना पूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिइएको उनले जानकारी दिए । निर्दोषलाई सामाजिक प्रतिष्ठामा आँच आउने र अनावश्यक दुःख दिने गरी तान्ने काम गर्न नहुने उनको भनाइ छ ।

