

शहीद स्मारक ए डिभिजन लिगः आज तीन खेल हुँदै

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार तीन खेल हुँदैछ। लिगको दोस्रो लेगअन्तर्गत शुक्रबार तीन खेल हुन लागेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। खुमलटार छैटौँ जितको योजनामा छ। खुमलटार १८ खेलमा १७ अंक जोडेर पुछारमा रहेको छ।
सातौँ जितको खोजीमा रहेको आर्मी १८ खेलमा २५ अंक जोडेर छैटौँ स्थानमा छ।
एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच खेल हुनेछ। १८ खेलमा २२ अंक जोडेर दशौँ स्थानमा रहेको हिमालयन छैटौँ जितको खोजीमा हुनेछ।
एपीएफ भने सातौं जित निकाल्न चाहन्छ। ऊ १८ खेलमा २२ अंक जोडेर नवौँ स्थानमा रहेको छ।
साँझ ६ बजे दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
१८ खेलमा ३३ अंक जोडेर शीर्ष स्थानमा रहेको चर्च ब्वाइज दशौँ जितको योजनामा छ । पुलिस सातौँ जितको योजनामा रहेको छ । ऊ १८ खेलमा २२ अंक जोडेर १२ औँ स्थानमा छ।

