
उद्योगीविरुद्ध उखु किसानले काठमाडौंमा चर्कायो आन्दोलन
काठमाडौं – उद्योगीले बाँकी राखेको बक्यौता भुक्तानीको माग गर्दै कपिलबस्तुका उखु किसानहरूले माइतीघरबाट आन्दोलन थालेको छ। उद्योगीले उखुको १२ करोड रकम भुक्तानी नगरेपछि कपिलवस्तुका किसान माइतीघरबाट निर्णायक आन्दोलन चर्काएका हुन्।
श्री महालक्ष्मी सुगर्स प्राइभेट लिमिटेडले जवाभारी कपिलवस्तुले १० हजार उखु किसानको झण्डै १२ करोड भुक्तानी गरेको छैन। भुक्तानी नपाएसम्म घर नफिर्किने उनीहरूले अडान राखेका छन्।
महालक्ष्मी सुगर्सले आर्थिक वर्ष २०७१/०७२ मा सरकारले चिनी उद्योगमार्फत् दिएको अढाई करोड अनुदान पनि उद्योगीले कुम्ल्याएको कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिका अध्यक्ष अनुपकुमार चौधरीले बताए। २०६९ देखि २०७४ सम्म उखु लिएर मिललेले किसानको साढे ९ करोड भुक्तानी नदिएको उनले बताए।
अध्यक्ष चौधरीका अनुसार आर्थिक वर्ष २०७१-०७२ सालमा सरकारले उखु किसानलाई प्रति क्वीन्टल २५ रुपैयाँ अनुदान दिएको थियो। ‘उद्योगीले हाम्रो नाममा अर्थ मन्त्रालयबाट अनुदान रकम बुझ्यो तर, हामीलाई दिएन। अर्थ मन्त्रालयमा पुग्दा सम्बन्धि उद्योगले अनुदानको रकम लिइसकेको भन्छ। उद्योगीलाई पैसा दिनु भन्दा ‘हामीले ल्याएकै छैनौं। किसानलाई सरकारले दिएको अढाई करोड रुपैयाँ कहाँ हरायो, कसले लियो पत्तै छैन। त्यसको खोजीमा हामी आन्दोन थालेका छौं,’ उनले भने।



कागजपत्र |
