नक्कली शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्याउने गृहमन्त्रीको प्रतिवद्धता


काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निस्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

आज बुधवार मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्।

उनले नक्कली भूटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पती आर्जन गर्ने कुरा संगठित अपराध भएको बताए । उनले यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताए ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताए। उनले कुनैपनि भ्रष्टाचारका प्रकरणहरु निष्पक्ष भएर छानबिन गर्ने र कुनैपनि दबाबमा वा कुनैपनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने बताए ।

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेको थियो।

प्रतिक्रिया