प्रचण्ड सरकारलाई दिएको समर्थनबारे बजेटपछि निर्णय गर्छौं : सिके राउत


काठमाडौं – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारलाई दिएको समर्थनबारे बजेटपछि पुनर्विचार गर्ने बताएका छन् । अध्यक्ष राउतले सरकारलाई दिएको समर्थनबारे बजेटलाई असर नपर्ने गरी निर्णय लिने बताएका हुन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने या सरकारमा जाने भन्नेमा तत्काल कुनै निर्णय नहुने उनले बताए। ‘हामी अहिले सरकारमा जाने विषयमा कुरा नमिलेको र सरकारलाई दिएको समर्थन पनि कायम राखेको अवस्थामा छौं। अझै केही समय यसरी नै रहन्छौं,’ उनले भने,‘बजेटमा कुनै डिस्टर्ब नहोस् भनेर यस्तो गरेको हो। त्यसपछि पार्टीको बैठक बसेर आवश्यक निर्णय लिन्छौं।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको भन्दै जनमत पार्टीका तर्फबाट मन्त्री बनेका खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए।

उद्योग मन्त्रालय नपाए कृषि पाउनु पर्ने उसको अडान थियो। पुस ११ गते जनमत पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष खान मन्त्री बनेका थिए। प्रतिनिधि सभामा जनमत पार्टीका तर्फबाट ६ जना सांसद छन्।

प्रतिक्रिया