


तुम्लिङटारमा ठूलो एटीआरले थाल्यो व्यावसायिक उडान

काठमाडौं – नेपालकै सबैभन्दा गहिरो अरुण उत्पत्यकामा रहेको तुम्लिङटार विमानस्थलमा आज (मंगलबार) देखि ७० यात्रु क्षमता भएको फ्रेन्च–इटालियन विमान एटीआर–७२ ले काठमाडौंबाट सिधा उडान सुरु गरेको छ ।
बुद्ध एयरको एटीआर–७२ विमानले परीक्षण उडान सफल भएको झण्डै एक वर्षपछि तुम्लिङटारमा ठूलो एटीआर विमानबाट व्यावसायिक उडान सुरु गरेको तुम्लिङटार विमानस्थल प्रमुख भानु कोइरालाले बताए । ‘सातामा ५ दिन ७० यात्रु क्षमताको एटीआर र २ दिन ४७ यात्रु क्षमता भएको एटीआर–४२ विमानबाट व्यावसायिक उडान हुनेछ,’ विमानस्थल प्रमुख कोइरालाले भने ।
टर्बोप्रोप ट्वीन इन्जिनयुक्त एटीआर छोटो दूरीमा पर्ने क्षेत्रीय सहरहरु जोड्ने विमान हो । नेपालमा पोखरा र सुर्खेतपछि यो विमानले मध्यपहाडको खोचमा पर्ने तेस्रो गन्तव्य तुम्लिङटारमा व्यावसायिक उडान थालेको छ । २०२९ सालदेखि उडान शुरु भएको तुम्लिङटारमा १९ देखि ५० सिट क्षमताका विमानले उडान गर्थे । यो विमानस्थल समुन्द्र सतहबाट १३ सय १६ फिट उचाइमा पर्छ ।
काठमाडौंबाट ३५ मिनेटको हवाई दूरीमा रहेको यो विमानस्थलको धावनमार्गको लम्बाई १४ सय २० मिटर रहेको छ । तापक्रम वृद्धि हुँदा यहाँ ठूलो एटीआरलाई ‘लोड–रेस्ट्रीकसन’ लाग्ने भनिएको छ । यसो हुँदा तुम्लिङटार–काठमाडौं उडानमा यात्रुको केही संख्या घटाउनु पर्ने हुन्छ ।
सशस्त्र द्वन्द्वपछि विराटनगर र काठमाडौंबाट हुने उडान रोकिएका थिए । द्वन्द्व सकिएपछि बुद्धले १९ सिटको बिचक्राफ्ट विमानबाट तुम्लिङटारमा उडान थालेको थियो । यात्रुको चाप बढ्दै गएपछि उसले ४७ सिटको एटीआर–४२ बाट उडान गरेको थियो ।
कोभिड महामारीपछि मकालु हिमाल आरोहण जाने पर्यटक तथा व्यवसायी र स्थानीयको चाप बढेपछि बुद्धले गत वर्ष जेठ २१ मा पहिलो पटक ठूलो जहाजबाट परीक्षण उडान गरेको थियो । उक्त उडानको प्रतिवेदनपछि नागरिक उड्डयन प्राधिकरणले तुम्लिङटारमा एटीआर–७२ लाई पनि उडान अनुमति दिएको थियो ।

