भरतपुर कारागारमा औषधी किन्न छैन बजेट


चितवन – भरतपुर कारागारमा औषधी किन्न बजेट अभाव भएको छ। कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधीको अभाव भएको हो।

कारागारमा हाल ४९ महिला चार बालबालिकासहित ७५८ कैदीबन्दी छन्। तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन्। कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौलाजस्ता दीर्घरोग भएका छन्। उनीहरूलाई नियमित औषधी खुवाउनु पर्छ।

यसका अतिरिक्त समय–समयमा कैदीबन्दी बिरामी पर्दा औषधी किन्नुपर्छ। उgका अनुसार कारागार विभागले चालु आर्थिक वर्षका लागि १२ लाखमात्रै बजेट पठाएको छ। अघिल्लो वर्ष २५ लाख पठाएको थियो। यसभन्दा अघिल्लो वर्ष ४८ लाख पठाएको जनाउँदै उनले कैदीबन्दीलाई औषधी खुवाउन नसक्ने अवस्थामा पुगेको बताए।

पछिल्लोपटक १५ लाख रुपैयाँ माग गरेकामा एक लाखमात्रै प्राप्त भएको कारागार प्रमुख आचार्यले जानकारी दिए। कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखामा अनुरोध गरेर केही औषधी जुटाएको छ।

दैनिक औषधीको व्यवस्थापनमा जटिलता हुँदै आएको छ। ‘किन्न बजेट अभाव भएपछि सरकारी र गैरसरकारी क्षेत्रबाट सहयोगका लागि अनुरोध गरिरहेका छौँ’, उनले भने, ‘नियमित औषधीसमेत अभाव भएको जनाउँदै शल्यक्रिया गर्नुपर्ने, भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएमा झन् ठूलो समस्या हुन्छ।’

कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाहरूले आफैँले औषधी किनेर खान थालेका छन्। विपन्नलाई औषधी खान समस्या परेको छ। ‘सत्तरी प्रतिशत बिरामीको औषधी किनेर खाने क्षमता छैन’, कारागार प्रमुख आचार्यले भने।

प्रतिक्रिया