

टर्कीको राष्ट्रपतीय चुनावमा कुनै पनि उम्मेदवारको आवश्यक बहुमत नपुग्ने सङ्केत

अङ्कारा – आइतबारको मतगणनामा ५० प्रतिशतभन्दा माथिका कुनै पनि उम्मेदवारले प्रत्यक्ष जित हासिल गर्न नसकेको देखिएको यहाँको अर्धसरकारी समाचार संस्था, अनादोलु एजेन्सीले सोमबार बिहान सार्वजनिक गरेको नतिजाले देखाएको छ ।
अनादोलुका अनुसार टर्कीको राष्ट्रपतिको निर्वाचन पुनः हुने सम्भावना बढिरहेको छ । प्रारम्भिक परिणामले टर्कीका वर्तमान राष्ट्रपति रेसेप तैयप एर्दोगानले विपक्षी प्रतिद्वन्द्वी केमल किलिकडारोग्लुको तुलनामा सहज अग्रता लिएको देखाएको थियो । तर ९३ प्रतिशत मत गणना गर्दा एर्दोगानले ४९.६७ प्रतिशत मत प्राप्त गरेकाे र विपक्षी नेता केमल किलिकडारोग्लुले ४४.५९ प्रतिशत मत प्राप्त गरेका छन् ।
तेस्रो उम्मेदवार सिनान ओगानले ५.३ प्रतिशत मत प्राप्त गरेका छन् । यदि निर्वाचनको पहिलो चरणमाबाट कुनै पनि राष्ट्रपति पदका उम्मेदवारले साधारण बहुमत वा ५० प्रतिशत मत प्राप्त गर्न नसकेमा मे २८ मा शीर्ष दुई उम्मेदवारबीच दोस्रो चरणको मतदान हुनेछ ।
एर्दोगानको सत्तारुढ जस्टिस एन्ड डेभलपमेन्ट पार्टी (एकेपी), नेशनलिस्ट मुभमेन्ट पार्टी (एमएचपी), न्यू वेलफेयर पार्टी र ग्रेट युनियन पार्टीद्वारा गठित पिपुल्स एलायन्समा ३२३ सांसद रहेको अनौपचारिक नतिजाले देखाएको छ । छ दलीय विपक्षी गठबन्धनले कूल २१४ सदस्य सांसद प्राप्त गरेको छ र यो सङ्ख्या गठबन्धनले अपेक्षा गरेको वर्तमान कार्यकारी राष्ट्रपतिको अन्त्यका लागि जनमत संग्रह गर्न आवश्यक ३६० सिटभन्दा निकै कम हो ।
परिणामअनुसार विपक्षी वामपन्थी राजनीतिक दलहरूको गठबन्धन लेबर एन्ड फ्रिडम एलायन्समा ६३, ग्रीन लेफ्ट पार्टीसँग ६० र वर्कर्स पार्टी अफ टर्कीले तीन सांसद जिताउन सफल भएका छन् ।
मतदानमा करिब छ करोड १० लाख मतदाताले सहभागिता जनाएका छन् । विदेशमा रहेका करिब ३५ लाख मतदातालाई अग्रिम मतदानका लागि व्यवस्था गरिएको थियो भने यसमा करिब ८० प्रतिशत मत खसेको थियो ।

