

प्रहरीलाई यसरी छक्काए ११ दिनसम्म टोपबहादुरले…

काठमाडौं — नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेको नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी आज पक्राउ परेका छन् । प्रहरीले पक्राउ पूर्जी जारी गरेको ११ औं दिनमा रायमाझी राजधानीको पासिकोटस्थित एक घरबाट पक्राउ परे ।
११ दिन अघि भैरहवाबाटै पक्राउ परेको भनेर कतिपय सञ्चारमाध्यममा समाचार छापिए पनि उनी ‘फरार’ रहेका थिए । प्रहरीलाई फोन गरेर आफू स्वयं उपस्थित हुने जानकारी गराए पनि बाटोबाटै ‘गायब’ भएका रायमाझीको खोजतलासमा नेपाल प्रहरीले चर्को दबाबबीच सफलता हात पारेको छ ।
अर्घाखाँचीबाट हिँडेसँगै पक्राउ पर्दासम्मका लागि टोपबहादुरले प्रहरीलाई राम्रैसँगै छक्याएको घटनाक्रमले देखाएको छ ।
उनले पक्राउ पुर्जी जारी भएको सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भएपछि आफैं प्रहरीमा आउने सन्देश दिएका थिए। त्यसपछि कार्यक्रम सकेर रायमाझी संघीय संसदका सभामुख देवराज घिमिरेसँग काठमाडौं आउन अर्घाखाँचीबाट हिँडे।
रुपन्देहीसम्म घिमिरेसँगै उनी आए। तर, उनी सभामुख घिमिरेसँग काठमाडौं आएनन्। प्रहरीलाई सहयोग गर्ने बताएका उनले काठमाडौं त आएनन् नै मोबाइल नै अफ गरे ‘फरार’ भए। मोबाइल अफ गरेर उनी कहाँ गए भन्नेसमेत प्रहरीले पत्तो पाएन।
काठमाडौं नआएर रायमाझी एक पूर्व सचिवालय सदस्यसहित पोखरा गए। त्यहाँ उनले सेल्टर खडा गरे। त्यसपछि उनले पोखरा पुर्याउने मान्छेलाई फोन दिएर भारत पठाए।
प्रहरीले टोपबहादुर पनि भारत पुगेको ठान्यो। त्यही अनुसार सिआईबीको एक टोली टोली भारत हानियो। उता भारतीय प्रहरीको सहयोगमा ती व्यक्तिलाई नेपाल प्रहरीले समात्यो। तर, टोपबहादुर भने फेला परेनन्। ती व्यक्तिलाई पक्राउ गरेपछि टोपबहादुर पोखरामा भएको कुरा थाहा भयो ।
त्यसपछि प्रहरी विषेश ब्यूरोको टोली पोखरा पुगे पनि त्यसअघि नै उनी शनिबार (हिजो) राति काठमाडौं आइपुगेछन् । त्यसपछि उनलाई पोखरामा बस्ने व्यवस्था मिलाउने व्यक्तिले शनिबार टोपबहादुरलाई काठमाडौं छाडेर पोखरा पुगेछन् । प्रहरीले उनलाई पिछा गर्दै नियन्त्रणमा लिए पनि प्रहरी बल्ल टोपबहादुरसम्म पुग्न सफल भयो ।
र, आइतबार साँझ मात्र काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको पासिकोटबाट अर्घाखाँची पुख्र्यौली घर भएका एक व्यक्तिकाट घरबाट नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मातहत रहने विशेष ब्यूरोको स्पेशल टिमले पक्राउ गर्न सफल भयो ।
भैरहवामै पक्राउ नगरेको भन्दै सामाजिक सञ्जालमा आईजीविरुद्ध भगाएको आरोप लागिरहेका बेला अन्ततः आईजीकै विशेष ब्यूरोले पक्राउ गर्न सफल भयो । ब्यूरोले आतंकवाद र सीमापार अपराध र विशेष प्रकृतिका घटनाहरुको अनुसन्धान गर्छ । अहिले यतिबेला रायमाझीलाई काठमाडौं परिसर लिएको पनि प्रहरी स्रोतले जनाएको छ ।

