

चितवनमा प्रथम रत्ननगर कप फुटबल आयोजना हुने

चितवन – राष्ट्रिय युवा संघ, नेपालको ३४ औं स्थापना दिवसको अवसर पारेर प्रथम रत्ननगर कप खुल्ला फुटबल–२०८० आयोजना हुने भएको छ । खेल जेठ १ गतेदेखि १४ गतेसम्म हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय युवा संघ, नेपाल रत्ननगर नगर कमिटीले आयोजना गरेको फुटबल प्रतियोगिता रत्ननगरपालिका–११ टिकौली चौरमा हुनेछ । प्रतियोगितामा नाम चलेका ठूला–ठूला क्लबहरुको समेत सहभागिता रहने आयोजकको विश्वास छ ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख २२ हजार २२२ रुपैयाँ र द्वितीय हुनेले एक लाख ११ हजार १११ रुपैयाँ पाउने आयोजकले बताएको छ । चौध दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ५० हजार दर्शक र सयौंको संख्यामा खेलाडी सहभागी हुने अपेक्षा गरेको बताइएको छ ।
हरेक खेलका उत्कृष्ट खेलाडीलाई ‘मोस्ट भ्यालुएबल प्लेयर अफ द म्याच’ घोषणा, प्रतियोगिता अवधिभरको सर्वाधिक गोलकर्ता खेलाडीलाई पुरस्कृत, सर्वोत्कृष्ट गोल रक्षकलाई पुरस्कृत तथा सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजक कमिटीका सदस्य सनदेश पन्तले जानकारी दिए ।
उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको समेत पन्तले बताए । प्रतियोगिताको उद्घाटन नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेले गर्नेछन् । फुटबल आयोजना गर्न करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ ।

