
कहाँ बित्यो बालकृष्ण खाँणको हिरासतको पहिलो रात ?
काठमाडौं — पूर्वगृहमन्त्री बालकृष्ण खाँण जीवनको उत्तराद्र्धमा आएर पहिलोपटक आज प्रहरी हिरासतमा रात कटाए । राजनीतिक मुद्दाहरुमा पटकपटक जेलनेल भोगेका पूर्वमन्त्री खाँण अहिले भने फौजदारी मुद्दामा पक्राउ परेका हुन् ।
प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) डा. मनोज केसीको नेतृत्वको प्रहरीको टोलीले मैजुबहालस्थित निजी निवासबाट बुधबार पक्राउ गरेका खाँणलाई अदालतको आदेशपछि पहिलो चरणमा शनिबार समेत गरी चार दिन हिरासतको बास बस्नु पर्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी अमेरिका पठाएको विषयमा अनुसन्धानमा परेका खाँणलाई रकम लिएको पुष्टी भएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
खाँणलाई प्रहरीले काठमाडौं प्रहरी परिसरकै हिरासतमा राखेको जनाइए पनि थप जानकारी भने बाहिर आएको छैन ।
यसअघि परिसरमा भीआईपीका लागि सुविधासम्पन्न हिरासत नभएको भन्दै यही मुद्दामा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई भने सिंहदरबार वृत्तमा राखिएको छ ।
बुधबार पक्राउ गरेपछि ५ घन्टासम्म बयान लिएको प्रहरीले उनलाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगेर म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुर्याएको थियो ।
भुटानी शरणार्थी प्रकरणमा हालसम्म ११ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले सुरुमा १२ चैत २०७९ मा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।
उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परे ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । मंगलबार रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको प्रहरीले बुधबार पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय नरेन्द्र केसीलाई नियन्त्रणमा लिएको छ । यो प्रकरणमा एमाले सचिव रायमाझी र पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ ।



कागजपत्र |
