

शैक्षिण गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्छ : मन्त्री शर्मा

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिण गुणस्तर सुधारका लागि सबै सरोकारवालाहरु गम्भीर भएर लाग्नुपर्ने बताएकी छन् ।
ललितपुरको गोदावरी नगरपालिका १४ ठैवस्थित फूल्चोकी माध्यामिक विद्यालयको ६४ औं स्थापना दिवसलाई सम्वोधन गर्दै उनले कति विद्यार्थीले कुन तह उत्तीर्ण गरे भन्दा पनि कति विद्यार्थीले शिक्षालाई जीवन र व्यवहारसँग जोडेर आफूलाई आत्मनिर्भर बनाउन सके भन्नेतिर प्रतिष्पर्धा हुनुपर्ने बताइन्।
‘नेपालमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर छ भन्ने आम मान्यताजस्तो बन्न पुगेको छ, यो मान्यतालाई बदल्नुपर्छ’– उनले भनिन्– ‘कुनै बेला सामुदायिक विद्यालयमा दुःखी गरिवका छोराछोरीले मात्र पढ्छन् भनेर हेपिएको थियो तर विस्तारै सामुदायिक विद्यालयप्रति आकर्षण बढिरहेको छ, यसलाई अझै बढाउँदै लैजानुपर्छ ।’
पछिल्लो समय समाजमा फेरिएको चेतनासँगै सामुदायिक विद्यालय राम्रा बनाउने र आफ्ना छोराछोरी त्यसमै पढाउने प्रचलन विकास हुँदै जानु सकारात्मक भएको उल्लेख गर्दै उहाँले समाजका अगुवाहरुले यसमा अझै मेहनत गर्न आवश्यक रहेका बताए ।
‘हामीले संविधानमै विद्यालय शिक्षाको जिम्मा स्थानीय तहलाई दिएका छौं तर यसले केही अवसर र चुनौती दुुबै सिर्जना गरेको छ’– मन्त्री शर्माले भनिन्– ‘जुन पालिकाका जनप्रतिनिधि भिजनसहित आएका छन्, उनीहरुले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर राम्रो बनाएका छन् भने केहीमा अझ बिग्रेको गुनासो पनि अभिभावकहरुले गरिरहेका छन् । सबै स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउनु आवश्यक छ ।’
शैक्षिण गुणस्तर बृद्धिका लागि सूचना प्रविधिको प्रयोग बढाउनुपर्नेमा पनि मन्त्री शर्माले जोड दिइन् । सूचना प्रविधिको माध्यमबाट एक ठाउँमा रहेका विद्यार्थीले अर्को ठाउँका शिक्षकले पढाएको विषयवस्तुबारे जान्न पाउने अवसर प्राप्त गर्ने उल्लेख गर्दै उनले हरेक विद्यालयले सूचना प्रविधिलाई अनिवार्य प्रयोग गर्नसके शैक्षिक गुणस्तरमा सुधार आउने बताइन् ।
विद्यालय तहका विद्यार्थीहरुमा सूचना प्रविधिको दुरुपयोग बढ्ने खतरा पनि उत्तिकै रहेकाले यसतर्फ सचेत हुन पनि उनले सबैलाई आग्रह गरिन् । ‘अहिले धेरै बालबालिका सूचना प्रविधिको लतमा लागेर पठनपाठनतिर ध्यान नदिने अवस्था पनि बनेको छ’– उनले भनिन्– ‘त्यसका साथै सूचना प्रविधिलाई सही रुपमा प्रयोग नगर्दा हिंसाका घटना पनि बढेका छन्, यसतर्फ पनि शैक्षिक संस्था, शिक्षक, विद्यार्थी र अभिभावक सेचत हुनु आवश्यक छ ।
बामपंथी नेता दिवंगत दिलबहादुर श्रेष्ठको अगुवाईमा विसं २०१६ सालमा स्थापित यस विद्यालयमा हाल कक्षा १२ सम्म १२५८ विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

