

बस कुरिरहेका आप्रवासी आश्रयस्थल नजिकै कारले ठक्कर दिँदा ८ जनाको मृत्यु

काठमाडौं – अमेरिकाको टेक्सासमा एक कारले मानिसहरुको समूहलाई ठक्कर दिँदा ८ जनाको मृत्यु भएको छ।
घरबारविहीन तथा आप्रवासीहरुको आश्रयस्थल नजिक रहेको बस स्टपमा मानिसहरुको एक समूहलाई कारले ठक्कर दिएको टेक्सास प्रहरीले जनाएको छ।
उक्त घटनामा ६ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा बिहान साढे ८ बजेको समयमा उक्त घटना भएको बीबीसीले जनाएको छ। बस कुरिरहेका करिब २० जनाको समूहलाई कारले ठक्कर दिएको थियो। घटनाका पीडितहरु भेनेजुएलाका नागरिक रहेको बताइएको छ।
उक्त कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो वा होइन भन्नेबारे स्पष्ट नभएको जनाएको छ।

