रेलमार्ग प्रभावितको ज्ञापनपत्र


बेलबारी (मोरङ) – रेलमार्गमा परेको जग्गाको तत्कालै मुअब्जा उपलब्ध हुनुपर्ने नभए सम्पूर्ण जग्गा फुकुवा गरिनुपर्ने भन्दै रेलमार्ग प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समिति कोशी प्रदेशले ज्ञापनपत्र बुझाएको छ ।

हालै सरकारले पूर्व-पश्चिम रेलमार्गअन्तर्गत काँकरभिट्टा-इनरुवाअन्तर्गत लामो समयदेखि रोक्का रहेको जग्गा रेलमार्गले ओगट्नेबाहेक ‘डिमरकेशन’ बाहिरको जग्गा फुकुवा गर्ने निर्णय गरेको हुँदा रेलमार्ग प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समितिले सरकारले गरेको निर्णय सच्याउन माग गरेको हो ।

मोरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य डा सुनिलकुमार शर्मालाई समितिले ज्ञापनपत्र हस्तान्तरण गरेको हो । ‘विगत तीन वर्षदेखि पटकपटक वडा, नगर, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाउने काम गरियो तर हालसम्म कुनै सुनुवाइ भएन’, समितिका बेलबारी अध्यक्ष चन्द्र लिम्बूले बताए ।

मुआब्जाका लागि बजेट नछुट्याएर तीन वर्षदेखि जनताको जग्गा रोक्का गरी बन्धक बनाइराखेको हुनाले वित्तीय कारोबारमा परेको समस्या सदनमा कुरा उठाइ दिन लिम्बूले आग्रह गरे । रेलमार्गको जग्गाको मुअब्जा उपलब्ध साथै जग्गा फुकुवा सम्बन्धमा सदनमा कुरा उठाउँदै प्रभावित क्षेत्रका जनताको समस्या दीगो रुपमा समाधानका लागि सरकारसँग पहल गर्ने सांसद शर्माले बताए ।

रेलमार्गअन्तर्गत मोरङको बेलबारी-९ मा रहेको नलबारी बजार पूर्ण रुपमा प्रभावित देखिएको छ । नलबारी चोकका करिब ५० घर रेलमार्गमा परेका छन् । नलबारी चोकका आफ्नै घरमा वर्षौदेखि व्यवसाय गर्दै आएका चक्र भण्डारी तीन वर्षदेखि जग्गा रोक्का भएका कारण बैंकमा धितो राख्न नपाएर समस्या भएको बताए ।

उनलृ भने, ‘तुरुन्त मुअब्जा चाहियो, नभए जग्गा फुकुवा गरी दिनुप¥यो ।’ पूर्व-पश्चिम रेलमार्गअन्तर्गत काँकरभिट्टा–इनरुवा रेलमार्ग एक सय छ किलोमिटर रहेको छ ।

प्रतिक्रिया