सिन्धुलीमा रंगशाला निर्माण


सिन्धुली – सिन्धुलीमा झण्डै दुई हजार दर्शक क्षमताको रंगशाला निर्माण गरिएको छ। कमलामाई नगरपालिका-५ कालीमाटीमा रंगशाला निर्माण भएको हो।  बागमती प्रदेश सरकारको ७ करोड ४६ लाख ५४ हजार रुपैयाँको लागतमा रंगशाला निर्माण गरिएको नगरपालिकाले जानकारी दियो।

नगरका प्रमुख उपेन्द्र कुमार पोखरेलका अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाइबाट रंगशाला निर्माण गरिएको हो।

‘रंगशालामा एक सय मिटर प्याराफिटमा सात वटा कोठा, चेन्जिङ रुम र सुविधा युक्त शौचालय निर्माण कार्य सम्पन्न भएको छ।

टेण्डर अनुसार मैदानको गेग्रान हटाएर झार उमार्ने, घेराबार, गेट निर्माण लगायतका अधुरा काम यसै आर्थिक वर्षभित्र सक्ने गरी काम भइरहेको छ,’ उनले भने। धुलिखेल निर्माण सेवा रंगशाला निर्माण गरेको हो। उक्त निर्माण कम्पनीले तोकिएको समयमा नै निर्माण सम्पन्न गरेको हो।

यसअघि एक हजार पाँच सय दर्शक क्षमताको दूधौली रंगशाला अधुरै छ। ६ करोड ९४ लाख ९२ हजार ४ सय ७४ रुपैयाँ लागतमा दूधौली नगरपालिका ९ मा निर्माण थालिएको उक्त रंगशाला दुई वर्षदेखि अलपत्र छ।

प्रतिक्रिया