


एसिसी प्रिमियर कप : वर्षाका कारण खेल रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश

काठमाडौं – नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । आज(शनिबार) कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो । डिएलएस मेथड लागू गर्न २० ओभर खेलेको हुनुपर्ने तथा सुपर ओभर गर्न सम्भव नभएपछि समूह चरणमा शीर्ष भएको आधारमा नेपाल सेमिफाइनलमा विजयी भएको हो ।
वर्षा हुनुअघि कुवेतको ब्याटिङ लाइनअपका क्रममा नेपालका करण केसीले पाँच विकेट लिए । उनले ४।३ ओभरमा १ मेडन राख्दा १० रन खर्चिए भने सोमपाल कामीले एक विकेट हात पारे ।
वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २८१ रन जोड्यो । डिएलएस मेथडका कारण कुवेतले २८१ रनकै लक्ष्य पायो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले ९४ रन जोडे । ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे ।
कुशल मल्लले अर्धशतक प्रहार गर्न सफल भए । उनले ४४ बलमा समान ४–४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडेका हुन् ।
यस्तै, ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे । दुईबीच १०।५ ओभरमा ७७ रनको साझेदारी भयो भने भीम सार्की १ रनमा आउट भए । आरिफ शेख १९ रनमा रनआउट भए भने सन्दीप लामिछानले ५ रनमै आउट भए ।

