चितवनका दुई वटा केन्द्रमा मतदान रोकियो


काठमाडौं – चितवनका दुई वटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण कमलकुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

भोजाडमा करिब २ घण्टादेखि मतदान रोकिएको छ भने कृष्णपुरमा मतदान रोकिएको आधा घण्टा भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो । रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए ।

मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो । सोक्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो ।

तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो भने विद्यालयको मूल गेट बन्द गरिएको छ । अहिले अवस्था सामान्य छ तर मतदान सुरु भइसकेको छैन ।

कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।

प्रतिक्रिया