यी दुई उम्मेदवार, यी बाहेक प्रमुख दलका अरूले दिन पाएनन् आफैंलाई भोट


काठमाडौं – तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा जारी उपनिर्वाचनको मतदानका दिन प्रमुख दलका दुई नेताहरुले मात्र आफूहरुलाई मतदान गरेका छन् ।

चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवारद्वय जीतनारायण श्रेष्ठ र गोविन्द भट्टराईले मतदान गरेका छन् । जीतनारायणले चतुर्मुखी उच्च मा.बि.शक्तिखोर केन्द्रबाट मतदान गरेका हुन् भने भट्टराईले ब्यास नगरपालिका ११ बेल्टारीस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनीहरुबाहेक चितवनबाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र नेकपा एमालेका रामप्रसाद न्यौपानेले आफूलाई मतदान गर्न पाएनन् । रविको मतदाता नामावली काठमाडौंमा छ भने न्यौपानेको चितवन क्षेत्र नं. ३ मा रहेको छ ।

त्यस्तै तनहुँ क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले र नेकपा एमालेका सर्वेन्द्र खनालले आफूलाई मतदान गर्न पाएनन् । उनीहरु दुवै मतदाता नामावली तनहुँमा नभएपछि मतदान गर्न नपाएका हुन् ।

बारा–२ मा जारी मतदानमा प्रमुख दलका उम्मेदवाहरुले आफूलाई नै मतदान गर्न पाएका छैनन् । बाराबाट उम्मेदवारी दिएका जसपाका उपेन्द्र यादव, रास्वपाका रमेश खरेल र नेकपा एमालेका पुरुषोत्तम पौडेलले आफूलाई मतदान गर्न नपाएका हुन् । यादवको सप्तरी, खरेलको काठमाडौं र गौतमको बाराकै निर्वाचन क्षेत्र नं. ३ मा मतदाता नामावली रहेको जनाइएको छ ।

प्रतिक्रिया