मलेशियाविरुद्ध नेपालको शानदार जित

भीम र कुशलको उत्कृष्ट ब्याटिङ, बलिङमा सन्दीप र सोमपाल चम्किए


काठमाडौं – एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेशियाविरुद्ध शानदार जित हात पारेको छ । २३६ रनको लक्ष्य पाएको नेपालले उक्त लक्ष्य ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालले ८२ बल बाँकी हुँदै जित हात पारेको हो ।

नेपालका लागि भिम सार्की र कुशल मल्लले उत्कृष्ट अर्धशतकसहित मलेशियाले प्रस्तुत गरेको लक्ष्य भेटाएका हुन् । सार्कीले ७१ रन बनाउँदा कुशलले विस्फोटक ७० रन बनाए । सार्की जितका लागि ५ रन चाहिएको बखत ७१ रन बनाउँदै आउट भए ।

कुशलले नटआउट ७० रन बनाए । दीपेन्द्र सिंह एरी ५ रनमा नटआउट रहे ।

नेपालका लागि कप्तान रोहित मल्लले ४३ बलमा ४२ रन बनाए भने कुशल भुर्तेलले ३१ बलमा ३८ रन बनाए । नेपालका आशिफ शेख ३ बलमा १ रन बनाउँदै पहिलो ओभरमा आउट भए ।

मलेशियाका लागि मुहम्मद वाफिक, विजय उन्नी, रिजवान हेडिर र भिरेन्दीप सिंहले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेशियाले ५० ओभरमा २३५ रन बनाएको थियो ।

मलेशियाका लागि कप्तान अहमद फैजले ७६ रन बनाए भने भिरन्दीप सिंहले ४६ रन बनाए । त्यस्तै मुहम्मद अमिरले १७ रन बनाउँदा विजय उन्नीले १२ रन बनाए । त्यस्तै सायदे अजिज १३ रनमा आउट हुँदा खिजार हायातले २२ रन बनाए ।

त्यस्तै स्यजरुल इद्रीसले २१ रन बनाए । मुहम्मद सहायत अन्तिम बलमा १५ रन बनाएर आउट भए । नेपालका लागि सन्दीप लामिछानेले अन्तिम ओभरमा २ विकेट लिएका थिए।

नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ४० रन दिएर ३ विकेट लिए । नेपालका लागि सन्दीपले १० ओभर बलिङ गर्दै ४८ रन खर्चिएर ३ विकेट हात पारेका हुन् ।

त्यस्तै ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चिएर २ विकेट लिए । त्यस्तै नेपालका लागि गुल्सन झाले १ विकेट लिए ।

प्रतिक्रिया