आगलागीबाट एक हजार स्याउका बिरुवा नष्ट


जुम्ला – जुम्लाको तातोपानी गाउँपालिको– १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् । सो वडाका चार स्थानीय बासिन्दाका करीब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

यहाँका स्थानीयवासीले दुःख गरेर हुर्काएका बिरुवा आगोले खाएपछि किसान चिन्तित भएका वडाध्यक्ष प्रेमबहादुर कठायतले बताए । उनले भने,’पानीको चरम अभाव भएको सो वडाको तरापी गाउँका किसानले बोकेरै सिँचाइ गरेर हुर्काएका एक हजार बढी स्याउका बिरुवा नष्ट भएका छन् ।’ गाउँका चार जना किसानको बगैँचामै आगलागी भएको छ ।

उक्त बगैँचामा रहेको घाँस जलेर स्याउका बिरुवा काँटछाँट र व्यवस्थापन गरिएका स्याउका बिरुवा नष्ट भएको वडाध्यक्ष कठायतले बताए । स्याउका बिरुवासँगै बस्तुभाउलाई खुवाउन जम्मा गरिएको घाँस र एउटा गोठसमेत जलेको छ । तरापी राँकाको मौसमी बस्ती हो । अहिले यहाँका किसान चिसो हिउँद कटाउन गाउँ झरेका छन् । अनेक कष्ट गरी हुर्काएर फल्न थालेका स्याउका बिरुवा आगोले खाएको र अहिलेसम्मको सबै मेहनत खेर गएको किसाल तुल धरालाले बताए ।

लेकमा चिसो बढेपछि गाउँ झरेका किसानको बगैँचा एकाएक आगोले सखाप पारेपछि यहाँका किसान चिन्तित भएका छन् । तीन घण्टा पानी बोकेर सिँचाइ गरी हुर्काएको बगैँचा नष्ट भएपछि आफूहरु चिन्तित भएको धरलाले दुखेसो पोखे । किसानले स्याउबाटै जीवन फेरिने आशा गरेका थिए ।

एक्कासी यति ठूलो विपत्ति आइलाग्यो अब राहतका लागि समन्वय गरिने गाउँपालिका अध्यक्ष न्यौपानेले बताए । छिट्टै कार्यपालिकाको बैठकबाट निर्णय गरी राहत उपलब्ध गराउने गाउँपालिकाले जनाएको । आगलागीबारे अनुसन्धान भइरहेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया