

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

विराटनगर – खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ । बिहीबार दिउँसो मोरङको पथरीशनिश्चरे नगरपालिका-७ मा एक बालकको मृत्यु भएको हो।
माछा मार्नलाई पथरी खोलामा प्रवाह गरिएको करेन्ट लागेर १५ वर्षीय सुजन लिम्बूको मृत्यु भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले दिए। उनका अनुसार विद्युत प्रवाह गरेर माछा मारिरहेका बेला लिम्बूलाई दिउँसो १२:३० बजेतिर करेन्ट लागेको थियो।
गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि ट्रमा सेन्टर उर्लाबारी लगिएकोमा दिउँसो २:३० बजेतिर चिकित्कसले मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि ट्रमा सेन्टरमै राखेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
खोलामा करेन्ट लगाएर माछा मार्न पाइँदैन। लुकाई छिपाई अवैध तरिकाले विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर मानिसको ज्यानै जाने घटना भइरहेका छन्। प्रहरीले यस्ता घटना रोक्न सबैको सहयोग आवश्यक रहेको जनाएको छ।

