बागलुङको काठेखोलामा खानेपानी अभाव


गलकोट – बागलुङको काठे खोला गाउँपालिका–३ धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ । धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी अभाव कायमै छ ।

भौगोलिक हिसाबले धम्जाकै शिरमा रहेको देउरालीमा खानेपानीका मूल बस्तीभन्दा तल भएका कारण यहाँका २० घरमा वर्षौँदेखि खानेपानीको पहुँच छैन ।

धम्जा देउरालीका बासिन्दालाई खानेपानीको सुविधा दिन सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेर देउराली खर्कको चौरमुनिको मूलबाट खानेपानी ल्याइए पनि उक्त आयोजना एक महिनासमेत टिक्न सकेन ।

प्राविधिक त्रुटिका कारण सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालनको एक महिनामै बिग्रिएपछि पुनः खानेपानीको अभाव भएको स्थानीय प्रेमश्वरी श्रेष्ठले बताए ।

‘सोलार लिफ्ट आयोजना सञ्चालनको एक महिनामै बिग्रियो’ उनले भने । १४ लाखको लागतमा योजना सम्पन्न भएको हो । देउरालीका सबै घरमा खानेपानीका धारा छन्, तर पानी उपलब्ध छैन ।

काठे खोला गाउँपालिकाले दुई वर्षअघि देउरालीमा खानेपानीको अभाव टार्न सोलार लिफ्ट खानेपानी आयोजना निर्माण गरेको हो ।

योजना सञ्चालनमा आउन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमबहादुर रोकाले बताए । लिफ्ट आयोजना मर्मत गर्न पहल भइरहेको उनको भनाइ छ ।

अहिले देउरालीमा असौजे र काल ठुटेको मूलबाट आएको पानी दुई वटा ट्याङ्कीमा जम्मा गरेर घर–घरमा वितरण भइरहेको छ । बर्खामा खानेपानी पुग्ने भए पनि हिउँदयाममा अभाव नै हुन्छ ।

देउरालीमा खानेपानी ल्याउनका लागि बस्तीमुनिको देउराली खोला मुहानको पानी सोलार लिफ्ट योजनामार्फत झन्डै तीन सय मिटरमाथि तानेर घर–घरमा पुर्‍याइएको थियो ।

प्रतिक्रिया