बेन्जेमाको गोलमा रियलद्वारा चेल्सी पराजित


स्पेन – च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड विजयी भएको छ। ।

गएराति सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियलले इंग्लिस क्लब चेल्सीलाई २–० गोलले पराजित गरेको हो। घरेलु मैदान सान्टियागो बर्नबेउमा टोलीलाई जित दिलाउन करिम बेन्जेमा र मार्को एसेन्सओले एक–एक गोल गरे।

खेलको २१ औं मिनेटमा नै रियलले बेन्जेमाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो। ७४ औं मिनेटमा एसेन्सीओले एक गोल थपे। खेलको ५९ औं मिनेटमा बेन चिलवेलले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो।

जितसँगै रियलले दुई लेगको क्वाटरफाइनलमा २–० को अग्रता बनाएको छ। अब यी दुई टोलीबीचको दोस्रो लेग अप्रिल १९ मा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ।

गएराति नै भएको अर्को खेलमा एसी मिलानले नापोलीलाई १–० गोलले पराजित गरेको छ।  दुई इटालीयन क्लबबीच भएको रोमाञ्चक भिडन्तमा घरेलु मैदानमा मिलानलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ४० औं मिनेटमा इस्माइल बेन्नासरले गरे।

खेलको ७४ औं मिनेटमा एन्ड्री फ्रांक अंगुइसाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नापोली १० खेलाडीमा समेटिएको थियो।  अब यी दुई टोलीबीचको दोस्रो लेग अप्रिल १९ मा नापोलीको घरेलु मैदानमा हुनेछ।

 

प्रतिक्रिया