ढाका श्रेष्ठको रास्वपाको साधारण सदस्यता खारेज


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेले पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय भएको जानकारी दिएका छन्।

आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको साधारण सदस्यता खारेज गर्दै सांसद पद पनि खारेजीको लागि संसद् र निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको हो।

व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ डिल गरेको अडियो सार्वजनिक भएको थियो। सो विषयले रास्वपा विवादमा तानिएको थियो।

उनीमाथि कारबाहीको लागि रास्वपाले अनुशासन समितिलाई छानबिनको जिम्मा दिएको थियो। अनुशासन समितिको प्रतिवेदनकै आधारमा उनीमाथि कारबाही गरिएको बताइएको छ। ढाकाकुमारले कोर टिमलाई रकम बुझाउनुपर्छ भनेको विषयमा पत्रकारको जवाफ दिँदै लामिछानेले पार्टीको नीति नै भ्रष्टाचारको विरोध भएकोले त्यसलाई पुष्टी गर्न चुनौती दिए।

‘तथ्यसहित सार्वजनिक भए कोर टिम वा जो जो भए पनि कारबाही हुन्छ’ लामिछानेले भने। लामिछानेले यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पनि पार्टीले सदैव सहयोग गर्ने पनि बताए।

उनले कोर टिम कसलाई भनिएको भन्नेबारे स्पष्ट जानकारी आएपछि जानकारी बोल्ने लामिछानेको भनाइ छ।

प्रतिक्रिया