पूर्वराजा वा एमालेलाई दोष दिएर नउम्कन सरकारलाई कांग्रेस महामन्त्री थापाको सुझाव


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले पूर्व राजा वा एमालेलाई दोष दिएर सरकार उम्कन नमिल्ने तर्क गरे। उनले पाँच वर्षपछि नेपाली काँग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताए ।

संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अव अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले दोहोर्‍याए।

‘पाँच वर्षको अवधि छ। मैले भनिरहेको छु म नेपाली काँग्रेसको एउटा कार्यकर्ता हुँ। संघमा काँग्रेसका सरकार, प्रदेशमा काँग्रेसको सरकार, ४ सयभन्दा बढी ठाउँमा गठबन्धन सरकार छ । अब कसैलाई दोष दिएर उम्कन पाइँदैन। अब भूतप्रेतलाई भनेर पनि पाइन्न। भूतपूर्व राजालाई भनेर पनि पाईन्न। अब नेकपा एमालेले गरेन, अरूले गरेन भन्न पनि पाइन्न। गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नु पर्छ । थापाले भने, ‘पाँच वर्ष देशको सरकार कसले चलाउने ? काँग्रेसले चलाउने । प्रदेश र स्थानीय सरकार हामीले चलाउने । अब कसैलाई दोष पन्छाएर पाइन्न । परिणाम दिनु पर्छ, रिजल्ट चाहिन्छ । त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौ ।’

महामन्त्री थापाले शिक्षकहरूको तलव, भत्ता बढाउन पनि सरकारसँग माग गरे। शिक्षकहरूलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरूको आवश्यक्ता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उनको भनाइ थियो। महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरूलाई आग्रह गरे।

प्रतिक्रिया