

नरेश खरेलले त्यागे एमाले

काठमाडौं – नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन् । आज (सोमबार) बक्तव्य सार्वजनिक गर्दै खरेलले इमान्दार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको उल्लेख गरेका छन् ।
खरेलले पञ्चायतको समयमा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा लामो समय जेलजीवन बिताएका थिए । १७ वर्ष जेल बसेका खरेलले २०३३ सालमा नक्खु जेलब्रेक गरेका थिए ।
‘नेकपा एमालेमा लामो समयसम्म योगदान गरेका, तर पार्टीका गलत क्रियाकलापसँग असहमत रहेका हामी नेता कार्यकर्ताहरु आजदेखि सो पार्टीबाट स्वतन्त्र रहेको घोषणा गर्दछौं’ बक्तव्यमा उल्लेख छ । खरेल एमाले नेतृत्वसँग असन्तुष्ट थिए भने खरेलप्रति एमाले नेताहरु पनि सकारात्मक थिएनन् ।
गत वर्ष चितवनमा सम्पन्न दशौं महाधिवेशनमा खरेल कुनैपनि पदका उम्मेदवार थिएनन् । तर खरेललाई हराउनुपर्ने पर्चा महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको थियो ।

