काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ।
गएराति आर्सनलले लिभरपुलसँग २-२ गोलको बराबरी खेलेको हो। दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलसँग अंक बाड्नु परेको हो।
आर्सनलका लागि गाब्रियल मार्टिनेली र गाब्रियल जिससले एक एक गोल गरे भने लिभरपुलका मोहमद सलाह र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे।
खेलको आठौं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। २८ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए।
खेलको ४२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याए। खेलको ५४ औं मिनेटमा लिभरपुलका सलाह पेनाल्टीमा गोल गर्न चुके। उनको प्रहार बाहिरिएको थियो। तर, खेलको ८७ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याए।
बराबरीसँगै आर्सनलले ३० खेलमा ७३ अंक जोडेको छ। आर्सनलले लिगमा ६ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानमा म्यानचेस्टर सिटीको २९ खेलबाट ६७ अंक भएको छ। लिभरपुल ४४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
गएराति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले लिड्स युनाइटेडलाई ५-१ गोलको पराकिलो अन्तरमा हरायो।