

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निश्कर्ष विहिन, भोलि फेरि छलफल हुने

काठमाडौं – मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता विना निश्कर्ष सकिएको छ । आज (आइतबार) शान्तिवाटिकास्थित फल्चामा भएको वार्ता विना निष्कर्ष टुंगिएको हो ।
आजको वार्तामा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई ६ बुँदे मागपत्र बुझाएको छ । त्यस्तै दुई टोलीबीच परिचय भएपछि आइतबारको वार्ता सकिएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।
उनका अनुसार मिटरब्याज पीडितको वार्ता टोली १९ जनाको भएकाले सानो बनाउन सरकारी वार्ता टोलीले आग्रह गरेको छ । सरकारले भने गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा टोली बनाएको छ ।
उक्त टोलीमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेत, उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन् ।

