

सभामुखसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताहरुले सभामुखसँग छलफल गरेका छन् ।
सभामुख देवराज घिमिरेको कार्यालय सिंहदरबारमा भएको भेटघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताबीच छलफल भएको थियो ।
सभामुख देवराज घिमिरेले शनिबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएका थिए ।
‘नेताहरुको बीचमा आपपसमा बसेर सामूहिक विषयमा कुराकानी नभइरहेको परिस्थिति थियो, उहाँहरुको बीचमा कुराकानी गराउन पहल गरेको हुँ’, सभामुख घिमिरेले भनेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा संसदमा विचाराधीन विधेयकलाई अगाडि बढाउन सकारात्मक कुराकानी भएको नेताहरुले बताएका छन् ।
भेटपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘सदनभित्रको टीआरसी, संवैधानिक परिषद र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी छ भन्ने कुरामा गम्भीर छलफल भयो ।’

